दाङ ,२२ कात्तिक ।
दाङमा जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–४ अजगढवाका शवकुमार यादवका १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।
राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बमले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवारलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।