© २०२३
सल्यान, २२ कार्तिक ।
सल्यानमा युवाहरूको समूहले तिहारमा देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट यात्रु प्रतीक्षालय निर्माण गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका, ३ स्थित सितलबजार भैली समूहले यस वर्ष देउसी भैलो खेलेर सङ्कलन भएको रकम सामाजिक कार्यमा लगाएको हो ।
भैलोबाट दान सङ्कलन भएको रकम भोजभतेरमा खर्च गर्ने, अवलोकन भ्रमणको नाममा पैसा सक्ने प्रचलनलाई बदल्दै यो समूहले सितलपुरमा यात्रु प्रतीक्षालय निर्माण गरेको हो ।
युवा समूहले यस वर्ष भैलो खेलेर ४२ हजार रुपैयाँ जम्मा गरेको थियो । सङ्कलित रकम मध्येबाट ४० हजार रुपैयाँको लागतमा यात्रु प्रतीक्षालय निर्माण गरेको भैली समूहका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए ।
प्रतीक्षालयले गर्मी वर्षामा बाटो हिँड्ने र गाडी कुर्न बस्ने यात्रुहरूलाई ठुलो राहत हुने उनको विश्वास छ ।
प्रतीक्षालयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कर्णदेव डाँगीले युवाहरूको यस कार्यको प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै युवाहरूले देखाएको उदाहरण अन्य समुदायका लागि पनि प्रेरणादायी भएको बताए ।
सार्वजनिक स्थानमा रहेको प्रतीक्षालयलाई आफ्नै सम्पत्ति जसरी माया गरी संरक्षण गर्नुपर्ने त्रिवेणी, ३ का निवर्तमान वडा अध्यक्ष हुकुम प्रसाद महताराले बताए । आगामी वर्ष पनि सामाजिक कार्यमा लगानी गर्ने भैलो समूहले जनाएको छ ।