© २०२३
बुटवल, २२ कार्तिक । नेपाल नियमित रक्तदाता संघले संस्थागत विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाताहरूलाई संगठित बनाउने तथा समुदायमा रगतको महत्त्वबारे जनचेतना फैलाउँदै आएको संघले संगठन सुदृढीकरण र सदस्यहरूको नेतृत्व तथा कार्यक्षमता बढाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विमलबहादुर शाक्य र अधिवक्ता दामोदर घिमिरेले सहजिकरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख सल्लाहकार शाक्यले निरन्तर सिकाइ मानव जीवनको आधार भएको उल्लेख गर्दै समयअनुसार नयाँ ज्ञान प्राप्त गर्न आवश्यक हुने बताए । उनले औपचारिक बैठक सञ्चालन, माइन्युट लेखन तथा संगठनात्मक व्यवस्थापनबारे व्यावहारिक प्रशिक्षण प्रदान गरे । यसैगरि अधिवक्ता घिमिरेले संस्थाको वैधानिक अवस्था र कानुनी प्रक्रियाबारे जानकारी दिए ।
कार्यक्रममा प्रस्तुत वार्षिक कार्ययोजनामा उपाध्यक्ष महेश खनालले आगामी ८ महिनाभित्र ३१ वटा कार्यक्रम सञ्चालन गर्ने योजना साझा गरे । उनले रक्तदान प्रवद्र्धन, सामुदायिक जनचेतना, सदस्य क्षमता विकास र संस्थागत सेवा प्रवाहका विभिन्न गतिविधिहरूका बारेमा जानकारी गराए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दयाबहादुर सिलवालले सामाजिक क्षेत्रमा अग्रसर संस्थामा आवद्ध सदस्यहरूमा उत्तरदायित्व, नेतृत्व क्षमता र सेवाभाव अभिवृद्धि हुने गरि कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा संघका महासचिव दीपक अधिकारी, प्रतिवेदक सदस्य रुपेन्द्र अधिकारीले सबैको साथ र सहकार्य गरि अघि बढ्न सुझाव दिए ।