© २०२३
पाल्पा, २१ कात्तिक ।
पाल्पाको तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित जोगीपानी कुवा अहिले स्थानीय र बाहिरका भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। धार्मिक विश्वास अनुसार, यहाँको पानी खुवाएपछि नबोल्ने बच्चाहरूको बोली फुट्ने गर्छ। यो चमत्कारिक विश्वासले गर्दा दैनिक रूपमा टाढाटाढाबाट अभिभावकहरू आफ्ना सन्तान लिएर यहाँ आइपुग्ने गरेका छन्।
गुल्मीको विरवासकी मालती खनाल पनि तीमध्ये एक हुन्। ३६ वर्षीया खनालका अनुसार, उनका चार वर्षसम्म नबोलेका छोराको बोली जोगीपानीको पानी खुवाएपछि फुट्यो। “छोरा बोल्दैन भनेर आफन्तले समेत हेप्थे। पानी खुवाएको केही दिनमै ऊ बोल्न थाल्यो,” उनी भावुक हुँदै भन्छिन्। अब त उनले कुवामा पूजा गर्न घण्टी चढाउन आएको बताउँछिन्।
त्यस्तै, रुरु गाउँपालिका बम्घाकी रेनुका राना पनि आफ्ना तीन वर्षसम्म नबोलेका छोराको बोली यहीँको पानीले फर्किएको अनुभव सुनाउँछिन्। “गाउँमा लाटो बच्चा जन्माएको भनेर गाली गर्थे। माईती जाँदा यो कुवाको कुरा थाहा पाएँ। पानी खुवाएको केही क्षणमै छोरा बोल्न थाल्यो,” उनले खुशी व्यक्त गरिन्।
बुटवल देविनगरका बलबहादुर अधिकारी ले पनि जोगीपानीको पानीलाई “चमत्कारीक” भन्दै अनुभव सुनाए। उनका अनुसार, सात वर्षदेखि सांकेतिक रूपमा मात्र कुरा गर्ने बच्चाले मंगलबार बिहान यहाँको पानी खुवाएपछि तुरुन्तै बोली फुट्यो।
परम्परागत कथा र धार्मिक विश्वास
स्थानीय भुन कुमारी गहतराज अनुसार, धेरै वर्षअघि एक जोगी यस क्षेत्रबाट भिक्षा माग्दै जाँदा प्यासले तड्पिए। वरिपरि पानी नपाएपछि उनले फलामको चिम्टाले जमिन खनेर पानी निकालेर पिए। त्यही स्थानबाट पानी उम्रिएको र त्यसैको नाम ‘जोगीपानी’ रहन गएको जनविश्वास छ। स्थानीयहरूका अनुसार, जोगीको वरदानले नै यो पानीमा “नबोल्ने बच्चालाई बोलाउने शक्ति” छ।
७० वर्षीय स्थानीय जोगबहादुर गहतराज भन्छन्, “यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने कसैले भन्न सक्दैन। हाम्रो पालादेखि नै बच्चा नबोल्दा यो कुवाको पानी खुवाउने चलन चल्दै आएको छ।”
पहिले यो कुवा सडक किनारमै थियो, तर मोटरबाटो विस्तार भएपछि तल सारिएको छ। पहिले वरिपरि पिपल र चापका रुखहरूले कुवालाई घेरिएको थियो, जहाँ बच्चालाई पानी खुवाउने चलन थियो। अहिले ती रुखहरू हटाइए पनि श्रद्धा र विश्वास भने अझै ज्यूँदै छ।
धार्मिक आस्था र आधुनिक विश्वासको संगम
जोगीपानी कुवाको पानीमा वैज्ञानिक कारण हो वा धार्मिक शक्ति — यसको ठ्याक्कै प्रमाण नभए पनि जनविश्वासले यसलाई “बोल्ने कुवा” को रूपमा स्थापित गरेको छ। दैनिक रूपमा भक्तजनहरू यहाँ पुग्छन्, पूजा गर्छन् र घण्टी चढाउँछन्।
स्थानीयहरूको भनाइमा, यो धार्मिक स्थलको प्रचारप्रसार भएमा पाल्पाको पर्यटन र आस्थासँग जोडिएको सम्पदा अझै परिचित बन्न सक्छ।
“यो केवल पानी होइन, आस्था र आशाको प्रतीक हो,” भन्छिन् गहतराज। “यहाँको पानीले नबोल्ने हजारौं बालबालिकालाई बोल्ने बनाउने विश्वास अहिले पनि उस्तै बलियो छ।”