Butwal Today

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २१ कार्तिक ।

आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनीपछि सर्वोच्चले आशिंक रूपमा मात्र सेवा प्रवाह गर्दै आएको थियो ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट प्रभावित मुद्दाहरू र अवरुद्ध सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

अदालतको सूचनाअनुसार, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेख तय भएको मुद्दाहरूको २०८२ मङ्सिर १ गते उपरान्त नियमित सुनुवाइ हुनेछ । अन्य पेसी नचढेका मुद्दाहरू पनि कानुनबमोजिम सुनुवाइ गरिने व्यहोरा सम्बन्धित पक्ष र सरोकारवालाहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाउन सक्ने निवेदन, पुनरावलोकन निवेदन तथा अन्य सबै प्रकारका मुद्दा र निवेदनको दर्ता र सुनुवाइ नियमित रूपमा गर्ने निर्णय गरेको छ ।