© २०२३
काठमाडौँ ।
भारतका कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि भोट चोरी गरेर सत्तामा पुगेको आरोप लगाएका छन् । पत्रकारहरूसँग कुरा गर्दै गान्धीले मोदीले चुनावमा धाँधलीमार्फत विजय हासिल गरेको दाबी गर्दै यो मुद्दा निरन्तर उठाइरहने बताएका छन् ।
‘हामीसँग पर्याप्त प्रमाण छन् र यो प्रक्रिया जारी राख्नेछौँ । हामी देशका जनतासमक्ष स्पष्ट रूपमा देखाउनेछौँ — नरेन्द्र मोदी मत चोरेर प्रधानमन्त्री बनेका हुन्, र भाजपा मत चोरीमा संलग्न छ,’ उनले भने ।
गान्धीले दुई घटनाको उदाहरण दिँदै भने, ‘मैले पहिले नै भनेको थिएँ, हरियाणाको चुनाव वास्तवमा चुनाव नै थिएन । त्यहाँ “थोकमा चोरी” भएको थियो । मैले उठाएका “नक्कली भोट” र “नक्कली तस्बिर” का विषयमा निर्वाचन आयोगले अहिलेसम्म जवाफ दिएको छैन । भाजपा आफ्नो बचाउमा लागिरहेको छ ।’
उनले प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगमाथि संविधानमाथि सामूहिक आक्रमण गरेको आरोप पनि लगाए ।
‘संविधान भन्छ – एक व्यक्ति, एक मत । हरियाणामा यो सिद्धान्त लागू भएको थिएन । त्यहाँ एक व्यक्ति, धेरै मत भएको थियो,’ उनले भने, ‘अब उनीहरू बिहारमा पनि यस्तै कार्य गर्दै छन् । यस्तै मध्य प्रदेश, छत्तीसगढ, हरियाणा र गुजरातमा पनि भइसकेको छ ।’
बिहारमा विधानसभा चुनावअन्तर्गत बिहीबार पहिलो चरणको मतदान सम्पन्न भएको छ ।