© २०२३
काठमाडौं ।
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।
नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिईएको छ ।
क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महोत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।
यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र सिमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो भन्दै एनसेलले आफ्ना ग्राहकका लागि एपमार्फत लाइभ एनपीएलका खेलहरु आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्ने बताएको छ ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, आफूहरुले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको भन्दै कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको बताएको छ ।