© २०२३
काठमान्डौ, २१ कार्तिक ।
हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार हङकङको मिसन रोड ग्राउन्डमा सम्पन्न खेलमा नेपाल १७ रनले पराजित भयो ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । कप्तान सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गरे । त्यस्तै लोकेश बमले १० रन, रशिद खान र मोहम्मद आदिल आलमले समान ११–११ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले सर्वाधिक ४३ रन बनाए भने करिम जनतले ३५, साफीले ३० र कप्तान गुलबदिन नइबले २० रनको योगदान गरे ।
बलिङतर्फ नेपालका रशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए र चौथो ओभरमा ह्याट्रिकसमेत पूरा गरे। लोकेश बमले एक विकेट हात पारे ।
नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन् । यस समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले दोस्रो खेल नोभेम्बर ८ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।
यस संस्करणमा नेपाली टोलीमा कप्तान सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रशिद खान र रुपेशकुमार सिंह रहेका छन् ।