© २०२३
काठमाडौँ, २१ कात्तिक ।
नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण तथा सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ ।
एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई मन्त्रिपरिषद्ले दिएको आयकर छुटसम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम निर्णय गरिएको उल्लेख छ । सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’
यस निर्णयअनुसार, नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका र एमसीसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालमार्फत काम गर्ने कम्पनीहरूलाई एमसीसी फन्डिङ (नेपाल सरकारको योगदानसहित) बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, आर्थिक ऐनले सरकारले विशेष परियोजना वा निकायका लागि आवश्यक कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
यस निर्णयको प्रत्यक्ष लाभ एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन ट्रान्समिसन लाइन र सडक सुधार जस्ता ठूला पूर्वाधार आयोजनामा संलग्न कम्पनीहरूलाई पुग्ने बताइएको छ । निर्णयले परियोजनाको कार्यान्वयन गतिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।