© २०२३
काठमाडौँ, २१ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेद न टुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् ।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा अध्यक्ष ओलीले जनेजी आन्दोलनको समेत आधार नभएको बताए । उनले अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘यो फेद–टुप्पोको सरकार हो । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो छ । आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।
त्यसैगरी उनले थपे, ‘त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि ।’ उनले पासपोर्ट रोक्का र स्थानहद तोकिएकोमा आपत्ति जनाउँदै नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दैछ सरकार भनेर प्रश्न गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई प्रतिगमनकारी, कमजोर, कुनै ग्राउन्ड नभएका र जनसमर्थन नहुँदा बनेको बताए । उनले भने, ‘परम्पराको टेको छैन, जनसमर्थनको आधार केही छैन । आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता छैन ।’
त्यसैगरी, ओलीले डिस्कर्डमार्फत चुनाव गरेर शासनमा पुगेको दाबीको प्रसंग उछेरे । उनले प्रश्न गरे, ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई–तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ?’