© २०२३
काठमान्डौ, २१ कार्तिक ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गर्न नागरिकहरूलाई प्रोत्साहन गर्न राजनीतिक दल, आमसञ्चार माध्यम र सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, “मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट भएका नागरिकलाई आवश्यक प्रचारप्रसार गरिदिन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम र सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ ।”
मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र मतदान गर्न पाउने भएकाले नाम दर्ता हुन छुट भएका वा विवरण अद्यावधिक गर्नुपर्ने नागरिकहरूले आफ्नो नागरिकता प्रमाणपत्रसहित आयोगको वेभसाइटमा प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आवश्यक परेको खण्डमा तोकिएको दिन, समय र स्थानमा फोटो तथा बायोमेट्रिक प्रक्रिया पूरा गर्न सकिनेछ । विवाह, बसाइँसराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएमा सम्बन्धित कागजातसहित आवेदन दिन सकिने व्यवस्था छ ।
निर्वाचन आयोगले हालसम्म पनि छुट भएका नागरिकलाई नाम दर्ता र अद्यावधिक गर्न स्थानीय तहमार्फत प्रचारप्रसार र सहजीकरण गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाइसकेको छ ।
पछिल्लो तथ्यांकअनुसार देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । विहीबार साँझ ८ बजेसम्मको तथ्यांक अनुसार एक दिनमै ११ हजारभन्दा बढी नयाँ मतदाता नामावलीमा समावेश भएका थिए । थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ अन्य रहेका छन् ।
निर्वाचन आयोगले जेनजीलाई लक्षित गर्दै अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने कानूनी बाटो खुलेको जानकारी दिएको छ । यो प्रक्रिया गत असोज ९ गतेदेखि सुरु भई कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आयोगका अनुसार १६ वर्ष पूरा गरेका नेपाली नागरिकहरूले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।