© २०२३
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् ।
अभियानका नेता रजमान तामाङले भने, महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने उल्लेख गर्दै, पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए ।
निवेदनमा भनिएको छ कि पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र रहेको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको भएको छ । ‘उक्त कामचलाउ समितिले पार्टी जीवनमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न सक्दैन,’ निवेदनमा उल्लेख छ, ‘अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन ।’
तामाङले बताए अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको छ । यी पहिचानहरू पार्टीको विधान विपरीत गएर कसैले परिवर्तन गर्न सक्दैन र बाहिरी दबाब वा प्रभावबाट आयोग प्रभावित हुन नहुनेमा निवेदकले जोड दिएका छन् ।
निवेदनमा निर्वाचन आयोगले पार्टीको पहिचान फ्रिज गरेर चुनावमा भाग लिनबाट वञ्चित गरेमा त्यसले निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाउने जिकिर गरिएको छ । निवेदन दर्ता नम्बर ६५३ रहेको छ ।