© २०२३
काठमान्डौ, २१ कार्तिक ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन राजनीतिक सहकार्य गर्दै अघि बढ्ने सहमत भएका छन् ।
शुक्रबार बिहान विप्लवसँग भएका भेटमा शर्मा र भुसालले नयाँ राजनीतिक परिस्थितिमा सहकार्यलाई कसरी घनिभूत र सघन बनाउने भन्ने विषयमा छलफल गरेका छन् । भुसालले भने, “विकसित परिस्थितिमा आगामी सहकार्यलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रह्यो । विगतमा हामी सहकार्य गर्दै आएका थियौं, अब त्यसलाई निरन्तरताका साथ सघन बनाउने तीनै नेता सहमत भएका छौं । सबै विषयमा छलफल गरेर अघि जाने हो ।”
छलफलमा राजनीतिक अन्योलको समयमा समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनै नेताको जोड रहेको बताइएको छ ।
पूर्व माओवादी नेता शर्मा नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी नभई अलग अभियान सञ्चालन गर्ने तयारीमा छन् र त्यसैअनुसार प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् ।
त्यस्तै, भुसाल पनि पार्टी पुनर्गठनको अभियान अघि बढाउने प्रयासमा छन् । शर्मा बिहीबार मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो, यद्यपि यसबारे अहिलेसम्म ठोस निष्कर्षमा पुगिनसकेको छ ।