© २०२३
बुटवल ।
ईलाका प्रहरी कार्यालय बुटवलले अबैध रूपमा नेपाल भित्र्याइँदै गरेका ३१ थान आइफोन बरामद गरेको छ। प्रहरीका अनुसार गए राति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिसे अवस्थामा झोला फेला परेको थियो।
खोजतलास गर्दा सो झोलाभित्र विभिन्न मोडेलका ३१ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाले जानकारी दिए।
प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू झोला फ्याँकेर फरार भएका थिए। बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नपाएको र कसैले सम्पर्क नगरेका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाइएका छन्।
त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल भित्र्याइएका अन्य सामान पनि बरामद गरेको छ। ती सामानमा जिन्स पाइन्ट ९४ थान, कुर्ता सेट ८४ थान, सल १६ थान, मोजा १०८ जोर, कुर्ता १६ थान, गुल मञ्जन ४८ पिस र केराउका २ बोरा रहेका छन्। यी सबैको मूल्य करिब ९० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।
प्रहरीले घर फोडी चोरी गर्ने एक व्यक्तिलाई समेत पक्राउ गरेको छ। बुटवल–११, चन्द्रनगरस्थित चन्द्रकला रानाको घरमा गत असोज १३ गते भएको चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–७ का सुमल घले पक्राउ परेका हुन्।
सोधपुछका क्रममा घलेको साथबाट चोरी गरेको सुनका गरगहना — सुनको झुम्का १ जोडी, सुनको हार १ थान, सुनको बाला १ जोडी, सुनको तिलहरी १ थान, सुनको मंगलसूत्र १ थान — साथै एक थान मोबाइल र नगद ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरी प्रमुख रानाले बताए।
उनका अनुसार पक्राउ परेका घलेविरुद्ध चोरी र मुद्रा अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।