Butwal Today

आयोगमा रविको बयान – माथिबाट आदेश आएपछि म निस्केँ

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलरको भनाइ विपरीत बयान दिएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका लामिछानेले बुधवार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेटसम्म बयान दिएका हुन् ।

लामिछानेका अनुसार, भदौ २४ गते जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि आफूलाई जेलबाट रिहा गर्न ‘माथिबाट नै आदेश गरिएको’ थियो । उनले दाबी गरे कि, पार्टीका उपसभापति डीपी अर्याल र पत्नी निकिता लामिछानेलाई पहिल्यै खबर गरेर बोलाइएको रहेछ ।

बयानमा उनले भनेका छन्, “डीपी अर्याल र मेरी श्रीमतीलाई पहिल्यै खबर गरेर बोलाउनुभएको रहेछ ।”

लामिछानेका अनुसार, कारागार बाहिर करिब सवा घण्टा पर्खिएपछि उनले माइक मागी आन्दोलनकारीलाई सम्झाउने प्रयास गरेका थिए । उनले थपे, “आन्दोलनकारीलाई सम्झाउँदै गर्दा साथीहरूले पत्र पायौँ भनेपछि म निस्केँ ।”

तर, नख्खु कारागारका जेलर सत्यराज जोशीले भने फरक दाबी गरेका छन् । उनका अनुसार, भदौ २४ गते प्रदर्शनकारीहरूले कारागार घेरेर रविलाई निकालेको डेढ घण्टापछि मात्र आफूलाई पत्रमा हस्ताक्षर गराइएको थियो ।

बयानमा जोशीले भनेका थिए, “लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए । सुरक्षा चुनौतीका कारण पत्रको ब्यहोरा हेरिनँ ।” जोशीले पत्र नहेरी मार्ने डरले हस्ताक्षर गरेको पनि आयोगका पदाधिकारीहरूलाई बताएका थिए ।

नख्खु कारागारबाट बाहिरिएपछि लामिछानेले सार्वजनिक गरेको पत्र ‘विवादित’ बनेको थियो । जेलर जोशीले हस्ताक्षर गरेको उक्त पत्रमा सहकारीसँग जोडिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने भएकाले गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको उल्लेख थियो ।

जेनजी प्रदर्शनतर्फ संकेत गर्दै पत्रमा भनिएको थियो, “थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन–चयन थप खलबलिने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।”

कारागारबाट निस्केपछि लामिछानेले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई आफ्नो रिहाबारे जानकारी गराएको बताएका छन् । उनका अनुसार, उनले अदालतमा पनि इमेलमार्फत जानकारी पठाएका थिए ।

पत्रबारे आफ्नो विरुद्धमा अफवाह फैलाइएको दाबी गर्दै लामिछानेले भनेका छन्, “मेरा विरुद्ध अफवाह फैलाइयो ।” आयोगका एक पदाधिकारीका अनुसार, बुधवार लामिछानेको बयान प्रक्रिया सम्पन्न भएको छ ।