Butwal Today

सेयर बजार २५९६ अंकमा झर्‍यो, कारोबार रकम भने बढ्यो

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, २० कात्तिक ।

बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।

अघिल्लो दिन २६०७ अंकमा रहेको बजार आज ११.२९ अंकले घटेको हो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम देखिएको छ ।

बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचकमा सामान्य घटबढ भएको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक ०.१२ प्रतिशतले बढेको छ ।

आज दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । यी दुबै कम्पनी हालै सूचीकृत भएका हुन् । दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० र माबिलुङको ४२२.७० कायम छ ।

उपकार लघुवित्तको मूल्य ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशतले बढेको छ । सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । पिपुल्स पावरको मूल्य ४.३७ र मोदी इनर्जीको ३.०७ प्रतिशतले घटेको छ ।

आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनी शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन् ।