Butwal Today

भोलि शुक्रबारबाट ‘जारी २’ सँगै अशोक दर्जीको बायोपिक ‘मन बिनाको धन’ रिलिज हुँदै

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

भोलि शुक्रबारबाट ‘जारी २’ सँगै बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित बायोपिक फिल्म ‘मन बिनाको धन’ देशभर प्रदर्शनमा आउँदैछ । तर, देशभरका हलहरूले फिल्मलाई अपेक्षित शो नदिँदा निर्देशक टंक बुढाथोकी असन्तुष्ट बनेका छन् ।

बुढाथोकीले बिहीबार फेसबुकमा स्टाटस लेख्दै हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गरेका छन् । उनले आफूलाई हराउन धेरैले लागिपरेको उल्लेख गर्दै यस्तो लेखेका छन्  ।

“म हार्दैछु । मलाई हराउन धेरै लागे, सधैं लागे । ठीकै छ । सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि हामीलाई हजुरहरूले पत्याउनु भएको छ । भोलिबाट प्रदर्शन हुने हाम्रो फिल्मको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुःख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् ।”

बिहीबार बिहानसम्म ‘मन बिनाको धन’ले देशव्यापी ५२ शो पाएको छ । तर सिक्वेल फिल्म ‘जारी २’ ले हलहरूबाट ठूलो संख्यामा शो प्राप्त गरेको छ, जसका कारण ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको निर्देशक बुढाथोकीको भनाइ छ ।

फिल्ममा टंक बुढाथोकी स्वयं मुख्य भूमिकामा छन् । साथै, फिल्ममा अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, र उत्सव सापकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक टंक बुढाथोकीकै वास्तविक जीवनमा आधारित छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् ।