© २०२३
राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखा अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा यहि मिति २०८२ साल कार्तिक २० र २१ गते अर्थात आजदेखि देशैभरी एकैसाथ संचालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरुलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरुसंग सम्पर्क गरी अनिबार्य रुपमा सेवन गराऔं ।
सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए संगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरुलाई अभियानमा नछुटाऔं ।
हरेक बर्ष बैशाख र कार्तीक महिनामा संचालन हुंदै आईरहेको यो महाअभियान कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्ब शुभदिपावली पर्न गएकोले मन्त्रालयको निर्णय र परिपत्र अनुसार यही कार्तिक २० र २१ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरेको हुनाले सबैले आ–आफ्नो स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ ।
आफ्ना भविष्यका कर्णधार ६ महिना देखि ५ बर्षसम्मको उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं । यो महाअभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरु रोगसंग लड्ने क्षमता पनि बढाउँदछ । र रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँदछ ।
त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधी सेबन गराउने कार्यमा अनिबार्य रुपमा सहभागी बनौं । भिटामिन ए को कमिको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य संस्थाहरुले सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरुद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा ६ महिना देखि ५ बर्षसम्मका सम्पूर्ण बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाईन्छ ।
जसमा ६ देखी १२ महिनाका लागी १,००००० आई.यु.(आधा क्याप्सुल) र १२ महिना पूरा भएदेखि ५ बर्षसम्मका लागि २,००००० आई.यु. (१ क्याप्सुल) खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमिबाट हुने आँखा सम्बन्धि रोगहरुको लागी पनि स्वास्थ्य संस्थाहरुबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ ।
त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरुबाट एक क्याप्सुल २,००००० आई.यु. भिटामिन ए खुवाईन्छ ।
साथसाथै परजिबी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाईदैछ भने १ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकामार्फत अर्धबार्षीक रुपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने जसमा १ बर्षदेखि २ बर्ष सम्मका बालबालिकाका लागी २०० मिलिग्राम (आधाचक्की ) र २ बर्ष पूरा भए देखि ५ बर्षसम्मका बालबालिकाका लागि ४०० मिलिग्राम (एक चक्की) खुवाईन्छ भने बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत बिद्यालय जाने बालबालिकाहरुलाई अर्धबार्षीक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ र सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ ।
६ महिनादेखि २ बर्ष मुनिका बालबालिकाहरुलाई बहुसुक्ष्मपोषक तत्व (बालभिटा) बितरण गरिदैं छ भने ५ बर्ष मुनिका बालबालिकालाई पाखुराको नाप लिईदैछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको पाईन्छ ।
नेपालमा २०५० सालदेखि भिटामिन ए खुवाउन सुरु गरिएको हो । २०५० सालदेखि आजसम्म हरेक वर्ष ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल खुवाइँदै आएको छ । ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट भिटामिन खुवाइँदैछ ।
भिटामिन ए बालबालिकाको आँखामा समस्या हुन नदिन, संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन अत्यन्तै आवश्यक भएको चिकित्सकहरु बताउँछन् । हरियो सागपात, फलफूल तथा माछामासुबाट भिटामिन ए प्राप्त गर्न सकिने भएपनि भिटामिन एको क्याप्सुल नै बालबालिकालाई किन खुवाइन्छ त ?
नेपालमा भिटामिन ए क्याप्सुल खुवाउने अभियान शुरु भएसँगै बालबालिकामा रतन्धो तथा विभिन्न खाले संक्रमणमा कमी आएको छ । त्यस्तै शिशु मृत्युदरमा पनि कमी आएको तथ्यांक छ । बालबालिकालाई दिइने अस्वस्थकर खानपानले बालबालिकामा पोषण तत्वको कमी भने अहिले पनि देखिन्छ । भिटामिन ए बालबालिकालाई वर्षको दुई पटक खुवाउने गरिन्छ । दुईदेखि तीन लाख आयु मात्रा रहेको भिटामिन एले शरीरमा कसरी काम गर्छ त ?
हाल नेपालमा भिटामिन ए खुवाउने कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भैरहेको छ । तर हामीले खाने खानपिनमा परिवर्तन गर्ने हो भने, भिटामिन एको पुरकका रुपमा भिटामिन ए क्याप्सुल खुवाइरहनु पर्ने अवस्था नहुने पोषणविद् लम्सालको तर्क छ ।
सरकारले वर्षेनी २७ लाख बालबालिकालाई लक्षित गरी ३० लाख भिटामिन एको क्याप्सुल नेपाल आयात गर्ने गरेको छ । छ छ महिनामा खुवाइने यो क्याप्सुलको औषत मूल्य ३ रुपैयाँ पर्छ । बालबालिका र गर्भवती महिलालाई लक्षित गर्दै करिब दुई करोड पचास लाख बराबरको भिटामिन एको क्याप्सुल वर्षेनी आयात गर्दै आएको छ ।
के हो त भिटामिन ए:
ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने शुक्ष्मपोषक तत्वको रुपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरिरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ ।
आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि बिकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरियो सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पंहेलो, फलफूल तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रुपमा पाईन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ ।
त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वास्थबद्र्वक पोषक तत्वको रुपमा मानिएको छ । यसरी नेपाल सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी मह्त्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरुलाई आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिबार्य रुपमा गएर आ–आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनको लागि औषधि सेवन गराउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ ।
साथसाथै यही मिति २०८२ कार्तिक २० र २१ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुबाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं ।
प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु, शिक्षक शिक्षिकाहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्नमा कुनै दुईमत पाईदैन ।
त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ–आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । भिटामिन ए र जुकाको औषधि निशुल्क पाईन्छन् । यी दुबै सुरक्षित छन् । यी दुबै औषधिले जीवन रक्षा गर्दछन् ।