© २०२३
काठमान्डौ, २० कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी अधिवेशनसम्बन्धी बहसमा पार्टीभित्रका सबै सदस्यहरूलाई सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जारी साढे १४ मिनेट लामो भिडिओ सन्देशमा उनले कांग्रेस पार्टीको सुधार र पुनर्गठनका यात्रामा युवापुस्ताको साथ र समर्थन अपरिहार्य भएको बताएका छन् ।
थापाले भनेका छन्, “कांग्रेस पार्टीको अधिवेशनसम्बन्धी बहसमा सबै साथीहरू सक्रिय सहभागिताका लागि आग्रह गर्दछु । तपाईंहरूको साथ अपरिहार्य छ । साथै, अन्य नौजवानहरूलाई पनि अनुरोध गर्दछु— कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ ।”
उनका अनुसार देशप्रतिको जिम्मेवारीबोध र वर्तमान अवस्थाप्रतिको चिन्ताले पार्टीको केन्द्रीय समिति बैठकमा अधिवेशनसम्बन्धी विषय प्रवेश गराइएको हो ।
थापाले विशेष गरी युवापुस्तालाई लक्षित गर्दै कांग्रेस पार्टीभित्रको आन्तरिक सुधार र संस्थागत पुनर्गठनका लागि सक्रिय सहभागिताको आह्वान गरेका छन् ।
भदौ २३ र २४ गते नागरिकहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, असक्षमता र कुशासनविरुद्ध प्रकट गरेको असन्तुष्टिलाई स्मरण गर्दै उनले भनेका छन्, “ती असन्तुष्टिहरूमध्ये केही कारण कांग्रेस पनि हो । भदौ २३ र २४ गतेको आन्दोलन पहिलोपटक कांग्रेसविरुद्ध लक्षित थियो । युवाहरूले दिएको खबरदारीलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन ।”
उनले थपे, “भदौ २३ गतेसम्म कांग्रेस संसदको पहिलो दल थियो । हामी सत्ता पक्षमा थियौँ । आज न सत्ता पक्षमा छौँ, न प्रतिपक्षमा— सडकमा आइपुगेका छौँ । हाम्रो प्रासङ्गिकतामाथि प्रश्न उठेको छ । हामीलाई निष्ठा होइन, भ्रष्टाचारसँगस आदर्श होइन, अवसरवादसँग जोडेर हेरिँदैछ । यो बेलामा हामी कहाँ चुक्यौँ, कसरी चुक्यौँ के नगर्नु पर्ने गर्यौँ, के गर्नुपर्ने पनि गरेनौँ एकपटक हामीले समीक्षा गर्नुपर्दैन ?’