© २०२३
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा अझै आशङ्का व्यक्त गरिएको छ ।
सरकारले निर्वाचनको तयारी गरिरहँदा राजनैतिक दलहरू भने फुटमा रमाउन थालेका छन् । नेपाली काँग्रेस पार्टी महाधिवेशनको विवादले चरम सङ्कटमा छ । नेकपा माओवादी र एसमाजबादी सहितका ९ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भएको घोषणा भएको छ ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले बृहद मोर्चाको घोषणा गरेका छन् । विप्लव समूह दुई चोइटा भएको छ । झलनाथ खनाल नेकपा एमालेभित्र लहसिएका छन् । मुलुक निर्वाचनमय भइरहेको बेला दलहरूमा फुटको खेती सुरु भएको छ ।
कम्युनिष्टहरूमा यो फुट र एकताको कुरा वर्षौँदेखि जारी छ । यस्तो लाग्छ–कम्युनिष्टहरू देशको खातिर होइन कि आफै आफै जुटने, फुट्ने र तितरबितर हुनकै लागि जन्मिएका हुन । देशको भन्दा पनि यिनीहरू आन्तरिक द्वन्द्वमा रुमल्लिएर आनन्दित हुन्छन् ।
पहिले सिद्धान्तको कुरा गर्ने कम्युनिष्ट पार्टीहरू अहिले त्यसभन्दा टाढा भागिरहेको प्रतीत हुन्छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले राजनैतिक दल र नेताहरूलाई सुधारको ठूलो अवसर प्रदान गरेको छ ।
तर, त्यसयताको करिब दुई महिनाको समय हेर्दा लाग्छ–नेताहरूमा सुधार होइन, सक्किने बाटोतर्फ अघि बढिरहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट महाधिवेशन सार्न दबाब दिइरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको नेतृत्वमै रहने लालसा मेटिएको छैन ।
माओवादीका अध्यक्ष प्रचण्ड घोषित पार्टी महाधिवेशनलाई लत्त्याउँदै बृहद पार्टी एकता गरी फेरी पनि नेतृत्वमै रहने योजना बुनिरहेका छन् । मुलुक विगत ३० वर्षदेखि यिनी नेताहरूको गलत नीति, नेतृत्व र कुर्सी मोहका कारण गुमराहमा परेको छ तर जेनजी आन्दोलनपछि पनि नेताहरूलाई पदको भोकले छोडेको छैन ।
जेनजी आन्दोलनले स्पष्ट निर्देश गरेको छ– बुढा नेताहरू अभिभावक बन्ने र युवाहरूले देश चलाउने । तर, नेताहरूको कुर्सीमोह अझै हराएको छैन । नेताहरूले अव बुझ्नपर्दछ–हाम्रै कारणले मुलुक अनिर्णयको बन्दी भएको छ ।
तसर्थ अव घोषित निर्वाचनबाट मुलुकले युवाको नेतृत्वमा देश विकास गर्ने अभियानको सुरुवात गरोस । नेताहरूले रोजगारी र आयआर्जनका धेरै सपना बाँडे । बदलामा केही छैन । नेताहरूले वार्षिक बजेट कार्यक्रममा ५ लाख रोजगारी सिर्जना हुने आश्वासन दिए तर त्यो पूरा भएन ।
हाम्रो बोली र व्यवहार धेरै फरक हुँदै छ । भन्छौँ एकथरि, गर्छौ अर्कै । आत्मनिर्भरताको रटान विद्यालय शिक्षादेखि नै हो, तर देश परनिर्भरतातर्फ उन्मुख छ । नेपालमा प्रजातन्त्र पुनर्स्थापनापछिको करिब ३० बर्षमा देशले केही पाएन भन्दा राजनैतिक परिवर्तन भएको छ तर देखिनेगरी र जनताले अनुभूत गर्नेगरी केही भएन । राजनैतिक परिवर्तनले जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउन सकेन ।
फलस्वरूप अहिले निरासा बढिरहेको छ । युवाहरू नेपालमा केही गरेर बस्ने अवस्था छैन । न रोजगारीका प्रशस्त अवसर नै छ । तसर्थ जसरी हुन्छ विदेश पलायन युवाहरूको सपना भइरहेको छ । कतिन्जेल यो अवस्था रहने छ भन्ने कुराको जवाफ कसैसँग छैन
। उद्योग, व्यापार व्यवसाय सबै धराशायी हुँदैछन । सबै अवयव कमजोर बनिरहँदा अनि कसरी रोजगारी सिर्जना हुन्छ ? फलस्वरूप युवाको विदेश मोह अस्वाभाविक होइन, स्वाभाविक बन्दै गएको छ ।
‘मेक इन नेपाल र मेड इन नेपाल’ को नारा हराउँदै गएको छ । मुलुक पूर्णरूपमा परनिर्भर हुने अवस्था छ । अव सबै नेपालीले गंभीर भएर सोच्नुपर्ने बेला आएको छ– नेपाल कहाँ छ ? धन्न विदेश गएका नेपालीहरूले पठाएको पैसाले देश धानिएको छ ।
अव फागुन २१ को निर्वाचनलाई जसरी पनि सफल वनाउने र त्यसपछि देशलाई नयाँ दिशानिर्देश गर्नेतर्फ प्रयास होस् ।