© २०२३
काठमाडौं, २० कात्तिक ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका राजनीतिक अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका छन् ।
राजनीतिक संवाद समितिले बिहीबार काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी सभाहलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जेनजी राजनीतिक अगुवाहरूलाई सम्बोधन गर्दै उनले भने, “राजनीतिमा ख्याल गर्नू । सबै कुरा दृश्य मात्र हुँदैनन्, अदृश्य पनि धेरै कुरा हुन्छन् । अहिले जोशमा सबै गर्न सक्छौं जस्तो लाग्छ, तर वास्तविकता त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।”
डा. भट्टराईले वर्तमान संविधानलाई “अपूर्ण” भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजानु पर्ने धारणा समेत राखे । उनले भने, “हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा पछि भर्दै गरौंला भनेर लेख्यौं ।
संविधान जारी भएकै दिन मैले भनेको थिएँ – यो गिलास आधा भरिएको छ, आधा खाली छ । अहिले संघीयता लगायतका कुरा फ्याँक्ने होइन, बरु अपूर्णतालाई पूर्ण बनाउँदै लैजानुपर्छ ।”
उनका अनुसार, पुरानो शक्तिले देशमा परिवर्तन सम्भव नभएकाले नयाँ राजनीतिक विकल्पको आवश्यकताका लागि आफूहरू १० वर्षदेखि वैकल्पिक शक्तिका लागि लड्दै आएको बताएका छन् ।
“संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए, त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन, अब तपाईंहरूको शक्तिले थप बल पाएको छ । यसमा हाम्रो पूर्ण साथ छ,” उनले भने ।
डा. भट्टराईले हालको सुशासन र अपेक्षित आर्थिक वृद्धिमा ढिलाइ हुनुका कारणहरू संविधानकै अपूर्णता र राजनीतिक व्यवस्थापनसँग जोडिएका बताउँदै भने,
“यही आधा गिलास खाली संविधानकै कारण सुशासन र तीव्र आर्थिक वृद्धि ल्याउन नसकिएको हो । अब यसमा सुधार आवश्यक छ, र यो कुरा जेनजीहरूले बुझ्नुपर्छ भन्ने मेरो चाहना हो ।”