© 2026
काठमान्डौ, १९ कार्तिक ।
नेकपा एकीकृत समाजवादी त्यागी एमालेमा पुनः प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरी केही दिनभित्र औपचारिक रूपमा एमाले फर्किने घोषणा गरेका छन् ।
बुधबार उक्त समूहका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले पार्टीमा फर्किने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार सबैको सहमति र सल्लाहपछि औपचारिक कार्यक्रममार्फत एमाले प्रवेश गरिनेछ ।
‘एक सय २२ जना साथीहरू त ६\ ८ महिनाअघि नै एमाले प्रवेश गर्ने तयारी गरिसकेका थियौं । अब हामी केही दिन देशभरका साथीहरूसँग छलफल गर्छौं र एउटा ठूलो शक्ति बनेर औपचारिक कार्यक्रममार्फत् घर फर्कनेछौं,’ उनले भने ।
उनले एमाले प्रवेशका लागि कुनै प्रकारको पद–बार्गेनिङ नभएको स्पष्ट पारे । “हामी पदका भोका होइनौं । महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन । बार्गेनिङ केही छैन । काम गर्दै जाँदा पार्टीले जे जिम्मेवारी दिनुहुन्छ, त्यसलाई स्वीकार गर्नेछौं,” विघटित प्रतिनिधिसभाका सांसदसमेत रहेका श्रेष्ठले स्पष्ट गरे ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्राप्त गरेका दुई लाख ९४ हजार मतमध्ये अधिकांश मत ‘भुइँ नेताहरूको परिश्रमको नतिजा’ भएको दाबी गर्दै उनले भने, “त्यो मतमध्ये झन्डै दुई लाख मत एमालेमै फर्किनेछ ।”
श्रेष्ठले आफूहरू विचार, सिद्धान्त र कार्यशैलीको समानताका कारण एमालेमै आफ्नो राजनीतिक घर देख्ने बताएका छन् ।