© २०२३
काठमान्डौ, १९ कार्तिक ।
नेपाल एमालेले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सातवटा आधारमा छनोट गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै प्रतिनिधि छनोटका सात आधारसम्बन्धी मापदण्ड मातहतका सबै कमिटीहरूमा पठाएका हुन् । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर १३ गते देशभर एकै पटक प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
ओलीद्वारा हस्ताक्षरित नयाँ अपानिअनुसार, महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यता अनिवार्य हुने छ । साथै, आफ्नो पार्टी सदस्यता भूगोलमा सार्न चाहने सदस्यले कात्तिक मसान्तभित्रै सदस्यता स्थानान्तरण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अपानिमा पदेन प्रतिनिधिहरू (आयोजक) ले प्रतिनिधि छनोट प्रक्रियामा भाग लिन नपाउने स्पष्ट गरिएको छ । बाँकी सबै सदस्यले भने तोकिएको एउटै क्लस्टरमा सहभागी भई प्रतिनिधि छनोटमा भाग लिन पाउने छन् ।
दलित र श्रमिक क्लस्टरअन्तर्गतका सदस्यहरूको विवरण सम्बन्धित जिल्ला तथा प्रदेश कमिटीहरूले एक हप्ता अघि नै सार्वजनिक गर्न निर्देशन दिइएको छ । त्यस्तै, जनसंगठनमा सक्रिय रहन चाहने सदस्यहरूले आफ्नो नाम भूगोल वा विशेष कमिटी सूचीबाट अलग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
प्रतिनिधि छनोटका क्रममा कुनै विवाद वा अस्पष्टता उत्पन्न भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । तर, विवादका नाममा आवश्यकभन्दा बढी प्रतिनिधि पठाएमा त्यस्ता प्रतिनिधिलाई मान्यता नदिने चेतावनी समेत दिइएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अपानि मातहतका सबै कमिटीहरूमा पुगेको छ र त्यसका आधारमा जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउनेछन् ।
एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल, विभिन्न क्लस्टर तथा मनोनीत प्रतिनिधि गरी कुल २ हजार १२७ जना सहभागी हुनेछन् ।
छनोट भएका प्रतिनिधिहरूले फोटोसहित संगठन विभागले उपलब्ध गराएको ढाँचामा विवरण भरी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने पनि अपानिमा उल्लेख गरिएको छ ।