© २०२३
काठमाडौँ ।
नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । यससँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा २ रन जोड्दै रोहितले यो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् ।
रोहितले एकदिवसीय करियरमा हालसम्म ७६ खेल खेलेका छन् र २ शतक तथा ११ अर्धशतकसहित २ हजार रन पूरा गरेका छन् ।
२३ वर्षीय रोहित अहिले एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । उनीपछि दोस्रो स्थानमा रहेका आसिफ शेखले १ हजार ६ सय ७७ रन, र तेस्रो स्थानमा रहेका कुशल भुर्तेलले १ हजार ४ सय ५४ रन बनाएका छन् ।