© २०२३
काठमान्डौ, १९ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उच्चस्तरीय जाँचबुझ आयोगमा बुधबार दिनभर बयान सकिएको छ । आयोगले उनलाई बयानका लागि बिहान नख्खु कारागारबाट सिंहदरबारस्थित कार्यालयमा ल्याएको थियो ।
बयानपछि प्रहरीको भ्यानभित्रै रहेका लामिछानेलाई बाहिर उपस्थित शुभचिन्तकहरूले केही बोल्न आग्रह गरेका थिए । त्यसक्रममा उनले छोटो प्रतिक्रिया दिँदै भने, “समय आउँदैछ ।”
गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले ‘जेनजी आन्दोलन’ का क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बुझपुछका लागि उनलाई उपस्थित गराएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका कारण उनी पुर्पक्षका लागि कारागारमा थिए। यही क्रममा २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै उनी बाहिर निस्किएका थिए । तर, उक्त घटना विवादास्पद बनेको थियो, किनभने कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामै प्रश्न उठेको थियो।
पछि लामिछाने पुनः कारागार फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा घटेको घटनाको वस्तुस्थिति अध्ययनका लागि नख्खु कारागार पुगेको थियो। सोभन्दा एक दिनअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।