© २०२३
काठमान्डौ, १९ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको छ । आयोगले भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा कारागारबाट बाहिर निस्किएको घटनाको छानबिन गर्दै लामिछानेसँग बयान लिइरहेको छ ।
भदौ २४ मा लामिछाने कारागारबाट निस्किएका थिए । यसअघि आयोगले आफ्नो कार्यालयमा नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिइसकेको थियो । जेलरसँग आयोगका पदाधिकारीहरूले लामिछानेले कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे जानकारी लिएका थिए ।
आयोगका एक सदस्यका अनुसार, लामिछानेसँग पनि सो पत्र र घटनाबारे सोधपुछ भइरहेको छ । सो पत्रमा सहकारीसँग सम्बन्धित राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो ।
जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ– ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’
भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । आयोगका एक जना सदस्यले जोशीको बयान उद्धृत गर्दै भने, ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ ।’
यसअघि आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र बिन्देश्वरी भण्डारीले पनि नख्खु कारागारको अवस्था निरीक्षण गरिसकेका छन् ।