Butwal Today

एकीकृत समाजवादीसँगको यात्रा आजैबाट टुंगियो : रामकुमारी झाँक्री

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजदेखि पार्टीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

वाम दलहरू—नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतबीच आज एकता घोषणा हुने क्रममा झाँक्री भने उक्त प्रक्रियाबाट अलग रहिन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीसँगको सहयात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेकी हुन् ।

‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि हामीले उपयुक्त मार्ग पहिल्याउँदै नयाँ यात्रा सुरु गर्ने निर्णय गरेका छौं,’ झाँक्रीले भनिन् ।

उनले एमाले फुटेर एकीकृत समाजवादी गठन गर्दा बीचमा यात्रा टुंग्याउन नसकेको स्मरण गर्दै अहिले त्यही अवसर आएको बताइन् । ‘आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा हामी एक किसिमले सन्तुष्ट र हल्का महसुस गर्दैछौं,’ उनले भनिन् ।

संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन्।