© २०२३
नवलपरासी, १९ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सेवाग्राहीको चाप र सहजतालाई ध्यानमा राख्दै इलाका प्रशासन कार्यालय बाट राष्ट्रिय परिचयपत्रको काम सुरु गर्ने तयारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बुधवार प्रतापपुर गाउँपालिका-२ मा रहेको कार्यालयको पूर्वाधार,प्रविधि र जनशक्ति व्यवस्थापनको बारेमा सम्भाव्यता अध्ययन गरेको छ । मङ्सिर महिना भित्र परिचयपत्रको काम सुरु गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिए ।”जनशक्ति, प्राविधिक र वित्तीय सहयोगका लागि मन्त्रालयमा माग गरिसकेका छौ,वित्तीय सहयोग आइसकेको छ,सबै सरोकारवालाहरूको सहयोग आवश्यक छ”लम्सालले भने ।
यसै गरी प्रमुख जिल्ला अधिकारी लम्सालले साताको एक दिन बुधवार इलाका प्रशासन सेमरीमै बसेर नागरिकका गुनासा र सेवा प्रवाहका बारेमा सहजीकरण गर्ने भएका छन् । इलाकाबाटै परिचयपत्रको सेवा सुचारु हुने भएसँगै विशेष गरी बर्दघाट नगरपालिका ,प्रतापपुर र सुस्ता गाउँपालिकाका नागरिकलाई सहज हुनेछ भने परासी जानू पर्ने बाध्यता हट्ने छ ।
प्रमुख जिल्ला अधिकारी लम्साल नवलपरासी आएसँगै जिल्ला प्रशासन कार्यालय परासीमा नागरिकका गुनासा सम्बोधनका लागी “हेल्प डेस्क”समेत स्थापना भएको छ ।सरकारी कार्यालयमा हुने झन्झटका कारण नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन यस कदमले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ भने सरकारी कार्यालयहरू नागरिक मैत्री बन्नु पर्छ भन्ने सन्देश दिन सक्नु पर्नेमा जोड दिइएको छ ।