© २०२३
काठमान्डौ, १९ कार्तिक ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ ।
बुधबार दुबईमा भएको अन्तिम खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जीत हात पारेको हो । यससँगै नेपालले युएई र अमेरिकाविरुद्ध खेलेका दुवै–दुवै खेल गुमाउँदै चारै खेलमा हार बेहोरेको छ ।
नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । घरेलु टोलीका मुहमद शाहदाद र मुहमद वासिमले शानदार ब्याटिङ प्रदर्शन गर्दै नेपालको जितको आशा समाप्त पारे ।
दुवैबीच चौथो विकेटका लागि १४७ रनको महत्वपूर्ण साझेदारी भयो । वासिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन बनाए भने शाहदादले १२३ बलमा ६ चौका र ३ छक्कासहित ९६ रनको योगदान दिए ।
यसअघि, टस जितेर फिल्डिङ रोजेको युएईका विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।
खराब सुरुवात गरेको नेपालले दुई रनमै पहिलो विकेट गुमायो। त्यसपछि आसिफ शेख र भीम सार्कीले पारी सम्हाल्दै दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे । आसिफले ४८ बलमा ४ चौकासहित ३४ रन बनाएर रनआउट भए भने भीमले ६८ बलमा ७ चौकासहित ४८ रनको योगदान दिए ।
कप्तान रोहितकुमार पौडेल २१औं ओभरमा मात्र २ रनमा आउट भए। त्यसपछि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४९ रन जोडे । दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बनाए ।
इन्निङको अन्त्यतिर नेपालले लगातार विकेट गुमायो। करण केसी खाता नै नखोली पेभिलियन फर्किए ।
नेपालको ब्याटिङ र बलिङ दुवै क्षेत्रमा कमजोर प्रदर्शनले यस सिरिजमा उसलाई जितविहीन रहन बाध्य बनायो ।