© २०२३
जितपुर, १९ कार्तिक ।
उद्योग व्यापार सङ्घ कपिलवस्तुले पहिलो पटक ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आयोजना गर्ने भएको छ । सङ्घले मङ्सिर ५ देखि १७ गतेसम्म मायादेवी रङ्गशालामा आयोजना गर्न लागेको हो ।
महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । स्थानीयबासीहरूले यस मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अवसरको रूपमा स्वागत गरेका छन् ।
वडा नं. ८ का अध्यक्ष बाबुराम अर्यालले महोत्सवलाई पूर्ण समर्थन जनाउँदै भने, “मायादेवी रङ्गशाला कपिलवस्तुको गौरव हो । यस मेला–महोत्सवले जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउनेछ ।” त्यस्तै वडा सदस्य विश्वास जिसीले भने, “यो मेला शिथिल अर्थतन्त्रलाई गतिशील बनाउनेछ ।
सङ्घीय सरकारले पनि मायादेवी रङ्गशालाको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।” उद्योग व्यापार सङ्घका अध्यक्ष खिमानन्द पौडेलका अनुसार, “महोत्सवको उद्देश्य स्थानीय उत्पादन, हस्तकला, कृषि, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन र संस्कृतिको प्रवर्द्धन गर्नु हो । यसले कपिलवस्तुको आर्थिक र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनेछ ।”
कार्यक्रममा ‘प्रथम कपिलवस्तु डान्स स्टार’ प्रतियोगितासमेत समावेश गरिएको छ । संयोजक असिम क्षेत्रीका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य युवा प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउनु हो ।
प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैयाँको आकर्षक पुरस्कार पाउनेछन् । सङ्घका पदाधिकारीका अनुसार, मेला र प्रदर्शनीले उद्योगी, व्यापारी, किसान र सर्वसाधारणबिच सहकार्य र सम्बन्ध सुदृढ गर्दै कपिलवस्तुको समग्र उन्नति र पहिचानमा नयाँ आयाम थप्नेछ ।