© २०२३
काठमाडौँ ।
ईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको आईसीसी एकेडेमीमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए । ६८ बलमा ७ चौका मद्दतमा ४८ रन बनाएका भिम ध्रुव परासरको बलमा क्याच आउट भए ।
ओपनर आशिफ शेख ४८ बलमा ४ चौका मद्दतमा ३४ रन बनाएर रन आउट भए । ४३ बलमा ३ चौका र १ छक्का मद्दतमा ३७ रन बनाएका दीपेन्द्रसिंह ऐरी पनि रन आउट भए । आरिफ शेखले ५३ बलमा २ चौका मद्दतमा ३० रन बनाए ।
त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदै जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट भए । कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदै क्याच आउट भए । यूएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरे ।
नन्दन यादव १ रनमा बोल्ड भए । करण केसी शून्य रनमै पेभेलियन फर्के । कुशल मल्ल अन्तिम बलअघि ४६ रनमा बोल्ड भए । उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । कुशलले ४५ ओभरको पहिलो बलमा जीवनदान पाए । जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा जोगिएका थिए ।
सन्दीप लामिछाने १५ रनमा र ललित राजवंशी ४ रनमा नटआउट रहे । यूएईका लागि ध्रुव परासरले २ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे । जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लाहले पनि समान २–२ विकेट लिए । जाहिद अलीले १ विकेट झारे ।