© २०२३
बुटवल ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका हत्या र अराजकताका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
उनले अन्तरिम सरकारले उक्त घटनाका दोषीहरूलाई पहिचान गरी निष्पक्ष छानबिन गर्न नसकेको आरोप लगाउँदै भने, “जबसम्म आन्दोलनका क्रममा हत्या, तोडफोड र राष्ट्रिय सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउन सकिँदैन, तबसम्म नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्न सक्दैनन् ।”
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकार नागरिकलाई शान्ति र सुरक्षाको अनुभूति दिलाउन असफल भएको टिप्पणी गरे । उनका अनुसार, अहिलेको राजनीतिक समस्याको दीर्घकालीन समाधान संसद् पुनः स्थापना र संविधान संशोधनमार्फत ताजा जनादेशमा जानु नै हो ।
उनले भने, “संविधानको रक्षा गर्दै अघि बढ्नुपर्छ । देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधि सभा पुनः स्थापना अनिवार्य छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले दृढ प्रतिबद्ध छ ।”
पौडेलले भने एमालेले जनताको जनादेशको आधारमा राष्ट्रिय सेवा गर्न चाहेको र निर्वाचनमा जान तयार रहेको स्पष्ट पार्दै भने, “तर सरकारले सुरक्षा व्यवस्थापनदेखि प्राविधिक तयारीसम्म आवश्यक गृहकार्य गर्न सकेको छैन ।” उनका अनुसार, संविधान एक गतिशील दस्ताबेज हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरीहरू संशोधन गर्न एमाले तयार छ ।
संविधानमा दलगत व्यवस्थाको प्रावधान रहेको उल्लेख गर्दै पौडेलले भने, “राजनीतिक पार्टीको विकल्प अर्को पार्टी र नेताको विकल्प अर्को नेता नै हो । नेताले गल्ती गरे जनताले खबरदारी गर्न सक्छन्, कानुनी कारबाहीको पनि व्यवस्था छ ।” उनका अनुसार, लोकतन्त्रको विकल्प पनि “उन्नत लोकतन्त्र” नै हो र अहिलेको समस्या समाधानको बाटो पनि लोकतान्त्रिक प्रणालीभित्रै खोजिनुपर्छ ।
११औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ
एमालेको आउँदो ११औँ महाधिवेशन सम्बन्धमा उनले पार्टी सर्वसम्मत नेतृत्व चयनको दिशामा अग्रसर रहेको बताए । “महाधिवेशनले सहमतिको वातावरणमा नेतृत्व चयन गर्नेछ,” पौडेलको भनाइ थियो ।
पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको सदस्यता नवीकरणबारे प्रश्न उठाउँदा उनले यो विषयमा सबै जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको बताए । तर उनले महाधिवेशनमा भण्डारीको सहभागिता र नेतृत्व हस्तान्तरणबारे स्पष्ट धारणा राख्न चाहेनन् ।
पार्टीभित्र प्रवेशका विषयमा पौडेलले भने, “एमालेका ढोका सबैका लागि खुला छ । स्वेच्छाले फर्किन चाहनेलाई हामी सधैँ स्वागत गर्छौँ। तर कसैलाई पदको लोभ देखाएर जबरजस्ती बोलाएको छैनौँ ।”
उनले भने , “एमाले सधैँ सिद्धान्त, सङ्गठन र राष्ट्रिय हितका आधारमा अघि बढ्ने दल हो। व्यक्तिगत स्वार्थका कारण होइन, विचार र मूल्यका कारण पार्टी बलियो बन्छ ।”
उपाध्यक्ष पौडेलले सरकारको असफलता, शान्ति–सुरक्षाको अवस्था, जेनजी आन्दोलनको छानबिन, र राजनीतिक स्थायित्वका लागि संसद् पुनः स्थापनाको आवश्यकता लगायत विषयमा धारणा राख्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवैधानिक बाटोमा अघि बढ्नुपर्नेमा विषयमा जोड दिएका थिए ।