बुटवल, १९ कार्तिक ।
पाँच वर्ष अघि नेपालबाट बाहिरिएको होटेल व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय चेन ब्रान्ड आइएचजी क्राउन प्लाजा पुनः नेपाल फर्किएको छ । क्राउन प्लाजाको पुनः नेपाल आगमनले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्र उत्साहित भएको छ । विश्व शान्तिको मुहान शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा स्थापित लुम्बिनी हेरिटेज लिमिटेड नामक पाँच तारे होटलको व्यवस्थापन सम्हाल्ने गरी इन्टरकन्टिनेन्टल होटेल ग्रुप ९आइएचजी० क्राउन प्लाजा नेपाल फर्किएको हो ।
पाँच वर्ष अघि काठमाडौँस्थित होटेल सोल्टीसँगको व्यवस्थापन सम्बन्धी सम्झौताको अवधि सकिएपछि क्राउन प्लाजा नेपालबाट बाहिरिएको थियो । लुम्बिनी हेरिटेजको व्यवस्थापन क्राउन प्लाजाले सम्हाल्दै यो होटलमा विश्व स्तरीय आतिथ्य सेवा प्रदान गर्ने सम्बन्धमा आइएचजी र लुम्बिनी हेरिटेज बिच हालै भारतको नयाँ दिल्लीमा दुई पक्षीय सम्झौता भएपछि लुम्बिनी क्षेत्रको पर्यटन उद्योगमा खुसीको सञ्चार भएको छ ।
लुम्बिनी हेरिटेजका प्रबन्ध निर्देशक अनिल प्रसाद श्रेष्ठका अनुसार हालै नयाँ दिल्लीमा विशेष कार्यक्रमकाविच लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसिया क्षेत्रका प्रबन्ध निर्देशक सुदिप जैनले यस सम्बन्धी दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी हेरिटेजले अब क्राउन प्लाजा लुम्बिनीको नामबाट विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने छ । आइएचजीको अन्तर्राष्ट्रिय मुख्यालय बेलायतमा रहेको छ । यसले संसारभरका आठ हजार बढी विश्वस्तरीय होटेल एण्ड रिसोर्टको व्यवस्थापन अपग्रेड कार्य सञ्चालन गर्दै आएको छ ।
लुम्बिनी हेरिटेजको व्यवस्थापन होटेल व्यवस्थापन क्षेत्रमा विश्वमै सुप्रसिद्ध चेन ब्रान्ड क्राउन प्लाजाले सम्हाल्ने भएपछि लुम्बिनी, चितवन र पोखराको भ्रमणमा विदेशी प्रर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भई नेपालको आर्थिक विकासमा टेवा पुग्ने छ । आइएचजीसँगको विश्वव्यापी विशेषज्ञता र क्राउन प्लाजा ब्रान्डको शक्तिले लुम्बिनी क्षेत्रमा आतिथ्य सेवाको मानकलाई नयाँ बनाउने र व्यापार तथा विदा मनाउन आउने अतिथिहरू दुबैकालागि प्रिमियम स्वागत स्थान सिर्जना गर्ने विश्वास लिएको कुरा पनि अमात्यले उल्लेख गरेका छन् ।
आइएचजीले गरेको बजार सर्वेक्षण अनुसार होटलका कम्तीमा ७० प्रतिशत रुम स्वदेशी र विदेशी पाहुनाले भरिनेछन् । होटलमा कुल १ सय ४७ कोठा, ७ सुइट, रेष्टुरेन्ट, स्विमीङ्ग पुल, फिटनेस सेन्टर लगायतका आधुनिक सुविधा छन् । छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने कार्यक्रम छ ।
होटलमा २ अर्ब ५० करोड लगानी भएको छ । यसले २ सय बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिनेछ । स्वदेशी र विदेशी पाहुनालाई आकर्षित गर्न विभिन्न प्याकेज सञ्चालन गर्ने योजना छ । लुम्बिनीस्थित मायादेवी मन्दिरबाट १ दशमलव ९ किलोमिटरको दुरीमा स्थापित यो होटेल धार्मिक र व्यापारिक यात्रुको आकर्षणको केन्द्र बन्ने अपेक्षा लिइएको प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन् ।
प्रशस्त विदेशी पर्यटक भित्र्याउँदै लुम्बिनी र गण्डकी क्षेत्रको पर्यटन उद्योगको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले सिद्धार्थनगर (भैरहवा) मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा। हरिध्वज राईका अनुसार लुम्बिनीमा संसारका १ सय बढी मुलुकका वार्षिक सरदर १२ लाख बढी तिर्थालु एवं पर्यटक आउने गरेको तथ्याङ्क छ ।
संसारमा १ अर्ब बढी बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या रहेको तथ्याङ्क छ । हरेक बौद्ध धर्मावलम्बी व्यक्ति जीवनमा एक पटक भए पनि लुम्बिनीको दर्शन गर्न चाहन्छन् ।