© २०२३
काठमान्डौ, १९ कार्तिक ।
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम गर्दै गरिने जाँच प्रक्रिया उच्चस्तरीय अध्ययन आयोगले अस्वाभाविक र झन्झटिलो भएको निष्कर्ष निकालेको छ ।
नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठन भएको उच्चस्तरीय अध्ययन तथा सुझाव आयोगले बुझाएको प्रतिवेदनमा आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रियामा प्रश्न उठाइएको छ । आयोगले भन्यो, “हातले छामछुम गर्ने जाँच प्रक्रिया अन्तर्राष्ट्रिय विमानस्थलहरूमा प्रचलित अभ्यास अनुसार छैन र पर्यटकका लागि अत्यन्त असहज छ ।”
आयोगले यस्तो प्रक्रिया मुख्यतस् राजस्व असुलीको लागि अपनाइएको देखिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार स्वीकार्य नभएको र नेपालजस्तो पर्यटकीय मुलुकमा यसले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित गरेको जनाएको छ ।
साथै, आयोगले संस्थागत रूपमा संगठित अपराध नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका उल्लेख्य नदेखिनु र सामान्य यात्रुको सुरक्षा व्यवस्थामा निगरानी नहुँदा यात्रु असुरक्षित महसुस गर्ने अवस्था देखिएको बताए । आयोगले भन्यो, “सामान्य यात्रुले ब्यागेज क्लेम गर्दा सामानको सुरक्षा र टुटफुटको जिम्मेवारी निर्धारण गर्ने प्रणाली वा निगरानी पर्याप्त छैन ।”
आयोगले आगमन भवनबाट बाहिर निस्किने यात्रुहरूलाई निजी सुरक्षाकर्मीले सवारीमा चढ्न नदिने, नेपाल प्रहरीलाई केवल मुकदर्शक बनाइने र पार्किङ शुल्क असुल गर्न बाध्य बनाइने व्यवहारप्रति पनि प्रश्न उठाएको छ ।
प्रतिवेदन अनुसार, पार्किङ क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नहुँदा निजी सुरक्षाकर्मी र भाडाका सवारी चालकले यात्रुहरूलाई नकारात्मक व्यवहार गरिरहेका छन् । आयोगले भन्यो, “यसले स्वदेशी वा विदेशी यात्रुलाई असुरक्षित महसुस गराउने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्वीकार्य छैन ।”
विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी परम्परागत अभ्यास अनुसार काम गर्दै आएको र यसले यात्रुलाई असहज बनाएको आयोगको निष्कर्ष छ । आयोगले स्पष्ट पार्यो, “सुरक्षा अंगहरूले आफ्नै आन्तरिक नियमअनुसार सञ्चालन गर्दै आएका छन्, नियामक निकायले यी सेवामा सुपरिवेक्षण गर्न सक्ने व्यवस्था छैन ।”
धेरै देशमा विमानस्थल सुरक्षा पेशेवर दस्ताले व्यवस्थापन गर्ने अभ्यास भए पनि नेपालमा यस्तो दस्ताको माग राखिए पनि ठोस निर्णय हुन सकेको छैन ।
हाल विमानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले, ल्यान्डसाइड क्षेत्रको यात्रु जाँच र व्यवस्थापन नेपाली सेना र निजी सुरक्षाकर्मीले, तथा भन्सारमा सशस्त्र प्रहरी खटाइएको छ ।