© २०२३
काठमान्डौ, १९ कार्तिक ।
जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र त्यसको भोलिपल्ट (२४ भदौ) घटेको आगजनी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।
आयोगले बुधबार आईजीपी खापुङलाई “किन कारबाही नगर्ने” भनी लिखित स्पष्टीकरण माग गरेको हो । आयोगका अनुसार माग गरिएको विवरण उपलब्ध नगराएको कारण उनीमाथि कारबाहीको सिफारिस गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा स्पष्ट पार्न सोधिएको हो ।
आयोगले करिब तीन साताअघि २३ र २४ भदौका घटनामा कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको विवरण मागेको थियो । तर, प्रहरी मुख्यालयले ‘उक्त दिन आईजीदेखि जवानसम्म सबै फिल्डमै थिए’ भन्ने सामान्य जवाफ दिएको बताइएको छ ।
आईजीपी खापुङको कार्यकाल आगामी साता सकिँदैछ । यसबीचमा आयोगले अन्य वरिष्ठ प्रहरी अधिकारीहरूसँग पनि सोही घटनाबारे बयान लिइरहेको छ ।