© २०२३
काठमान्डौ, १९ कार्तिक ।
जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे स्पष्टता प्राप्त गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगले बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित हुन लामिछानेलाई बोलाएको हो । नख्खु कारागार प्रशासन स्रोतका अनुसार आयोगको पत्र प्राप्त भएपछि उनलाई उक्त समयमा आयोगमा उपस्थित गराइने तयारी गरिएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने २४ भदौमा अन्य कैदीबन्दीसँगै ‘असुरक्षाको कारण’ देखाउँदै कारागारबाट बाहिर निस्किएका थिए । उक्त घटनासँग सम्बन्धित कारागार प्रशासनले जारी गरेको भनिएको पत्रको प्रामाणिकतामाथि प्रश्न उठेपछि लामिछाने पुनः कारागारमै फर्किएका थिए ।
घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगको टोली गत सोमबार नख्खु कारागार पुगेको थियो । त्यसअघि आयोगले कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।