© २०२३
नवलपरासी, १९ कार्तिक ।
बर्दघाट नगरपालिकाले यस वर्ष किसानलाई ४९ लाख ९८ हजार रुपैयाँ बराबरको गहुँको बीउ वितरण गर्न लागेको छ। बीउ वितरण ५० प्रतिशत लागत साझेदारीमा गरिने नगरपालिकाले जनाएको छ । ५ सय ८८ क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको हो ।
नगरपालिकाले यस पटक वितरणको प्रक्रिया सहज र पारदर्शी बनाउन ५ वटा सहकारी संस्था मार्फत बीउ वितरण गर्ने व्यवस्था गरेको छ । किसानले प्रति कठ्ठा ५ किलोका दरले बीउ लिन सक्नेछन्, जसमा अधिकतम २ क्विन्टल सम्म लिन पाइनेछ ।
२ क्विन्टल बीउ लिने किसानले ८,५०० रुपैयाँ बराबरको अनुदान प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाले प्रत्यक्ष रूपमा किसानलाई बीउ वितरण गर्दै आएकोमा यस वर्षदेखि सहकारीमार्फत वितरण गर्दा किसानको हातमा बीउ सजिलै पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, “सहकारीमार्फत वितरण गर्दा न किसानलाई झन्झट हुन्छ न कार्यालयमा भीड । यसले पारदर्शिता र पहुँच दुवै बढाउनेछ र सहजै किसानको हातमा बीउ पर्नेछ । “सीमित श्रोत साधनका बाबजुद पनि कृषिलाई प्राथमिकतामा राखेर अघि बढेका छौ” श्रेष्ठले भने ।
नगरपालिकाले आगामी दिनमा पनि स्थानीय उत्पादन वृद्धिका लागि किसानमैत्री कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ ।