© २०२३
काठमान्डौ, १९ कार्तिक ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौं उपत्यका र अन्य स्थानका प्रहरी कार्यालयबाट हजारौं थान गोली, रबर बुलेट र हतियार हराएको प्रहरीले आन्तरिक छानबिनमा पत्ता लगाएको छ ।
प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति आन्तरिक प्रतिवेदन तयार पारेर आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको छ । रिपोर्टअनुसार, काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय जङ्गी राउण्ड हराएको छ । आन्दोलनकारीले प्रयोग गर्नेसहितको डमी राउण्ड करिब २ हजार रेकर्डमा नभेटिएको बताइएको छ ।
त्यस्तै, आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल र १७ सय म्याग्जिन ९गोली राख्ने भाँडो० हराएको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रहरीको आन्तरिक रिपोर्ट अनुसार प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड प्रहार गरिएको थियो । जसमध्ये ४ हजार जङ्गी राउण्ड र २५ सय भन्दा बढी रबर बुलेट प्रहार भएको पुष्टि भएको छ । प्रदर्शनकारी भगाउन २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड फायर गरिएको छ, जसमा आवाज मात्र हुने बताइएको छ ।
आश्रुग्याँसका लागि ८ हजार सेल प्रयोग गरिएको छ भने काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल प्रहार भएको रिपोर्टमा उल्लेख छ । जेनजी प्रदर्शनपछि सामान्य स्थिति आएसँगै प्रहरीले हराएको र लुटिएको करिब ३५ सय राउण्ड गोली बरामद गरेको छ ।
प्रदर्शन स्थलमा हराएको र युनिटहरुबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ । प्रदर्शनमा करिब १२ सय थान हतियार हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । हराएको ७ सय ४७ थान हतियार भेटिएको प्रहरीका एक उच्च अधिकृतले । ती प्रहरी अधिकृतका अनुसार प्रहरीको ४५३ थान हतियार अझै बाहिर छ ।