© २०२३
लमही, १८ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालहरूमा उपचार सेवा अब दुई सिफ्टमा सञ्चालन गर्ने तयारी अघि सारिएको बताएका छन् ।
बिरामीको चाप बढ्दै गएको र सेवाको प्रभावकारिता बढाउन दुई सिफ्ट प्रणाली उपयुक्त हुने भन्दै उहाँले तत्काल योजनासहित कार्यान्वयनमा जान सम्बन्धित निकायलाई निर्देशन दिए ।
राप्ती उपत्यका (देउखुरी) मा मंगलबार सम्पन्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले भने, “प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । अब रचनात्मक रूपमा अस्पताल सञ्चालन गर्नुपर्छ ।”
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी योजना बनाउन निर्देशन दिँदै उनले जिल्ला अस्पतालहरूलाई सक्षम र प्रभावकारी बनाउने आवश्यकता पनि औँल्याए ।
“जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसहरू अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ । निजीमा रिफर गर्ने प्रवृत्ति रोक्नुपर्छ,” उनको भनाइ थियो ।
स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मातृ–शिशु स्वास्थ्य, पोषण, र रोग नलाग्ने प्रवृत्ति विकासमा ध्यान केन्द्रित गरिएको जानकारी दिए । “प्राकृतिक उपचार र आयुर्वेदलाई प्रोत्साहन गर्दै दीर्घकालीन समाधानमुखी स्वास्थ्य यन्त्रणा बनाइन्छ,” उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रमुख सचिव बावुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालसहित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार प्रदेशले २०८१/८२ मा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको समीक्षा गरिएको थियो ।