© २०२३
काठमाडौँ ।
समान विचार भएका राजनीतिक दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ ।
लिङ्देन निवास, ललितपुर लामाटारमा आज बिहान भएको भेटघाट र छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दिएका छन् ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलका साथै समान विचार भएका व्यक्तिहरूबिच सहकार्य र एकताको आवश्यकताबारे गहिरो चर्चा भएको पनि उनले बताए ।
‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन्, पार्टी भित्र छलफल गरी पुनः चाँडै नै छलफलमा बस्ने बताउनुभएको छ,’ लिङ्देनको भनाइ उद्धृत गर्दै बर्तौलाले भने ।
लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए ।