© २०२३
काठमान्डौ, १८ कार्तिक ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ । निर्वाचन आयोगका अनुसार विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिका नै पुनः प्रयोग गर्न मिल्ने भएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विद्यमान मतपेटिका पर्याप्त मात्रामा रहेका छन् । उनले भने, “मतपेटिका शतप्रतिशत अवस्थामा छन्, नयाँ खरिदको आवश्यकता छैन ।”
निर्वाचनका अन्य आवश्यक सामग्री खरिदसहितको विस्तृत बजेट आयोगले तयार गरी अर्थ मन्त्रालयमा पठाइसकेको छ । आयोगले पठाएको बजेटमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो बजेट हाल अर्थ मन्त्रालयको स्वीकृतिको पर्खाइमा रहेको आयोगले जनाएको छ ।
आयोगले बजेट निर्माणसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची पनि तयार गर्दैछ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने तयारी आयोगको छ ।
यसअघि नै रहेका सामग्रीहरू उपयोगमा ल्याउने रणनीतिअनुसार आयोगले खर्च न्यूनिकरणमा ध्यान केन्द्रित गरेको जनाएको छ । ती पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूमध्ये मतपेटिका प्रमुख रहेको आयोगले स्पष्ट पारेको छ ।