© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । पार्टी एकीकरणसम्बन्धी प्रस्ताव अनुमोदनका लागि बैठक आह्वान गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबीच आइतबार १८ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो । माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस्तै, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी, र ने.क.पा. साम्यवादी का अध्यक्ष प्रेमबहादुर सिंहले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार नयाँ दलको चुनाव चिह्न पाँच कुने तारा तोकिएको छ, तर दलको नाम भने अहिलेसम्म टुंगो लागिसकेको छैन । नयाँ दलको सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुने उल्लेख छ । साथै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि गरिएको छ ।
सहमति अनुसार बुधबार औपचारिक एकता घोषणा गरिनेछ भने बिहीबार नवगठित एकीकृत पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने तयारी छ । प्रारम्भिक अनुमान अनुसार नयाँ केन्द्रीय समितिको सदस्य संख्या आठ सयभन्दा बढी हुने देखिएको छ ।