© २०२३
काठमाडौँ ।
पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन् । उनले उक्त अभियानमार्फत ‘तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले नेपालमा विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे ।
शर्माले भने, “विद्रोह जायज छ, विद्रोह अधिकार हो । आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो ।” उनका अनुसार यो अभियान कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो ।
अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ । शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो । क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए । अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ ।”
शर्माले नेपालका मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याएका छन् । उनका अनुसार हालका मुख्य दलहरू जनताको दृष्टिमा विश्वास गुमाइसकेका छन् र नयाँ पुस्ताले इतिहासको भार वहन गर्न तयार हुनुपर्छ ।
अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको छ । शर्माले विश्व पुँजीवादका सिक्रीहरू तोड्दै “नेपाली विशेषतायुक्त समाजवाद” निर्माणमा जोड दिएका छन् ।
शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “यो देशलाई निराशाबाट आशातर्फ लैजान, समानता र स्वाधीनताको मार्गमा अघि बढाउन, नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा जिम्मेवारी हो ।”