© 2026
काठमान्डौ, १८ कार्तिक ।
जेनजी प्रदर्शनको क्रममा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिइसकेको छ । आयोगले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको हो ।
आयोगका सदस्यका अनुसार, जेलरसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे सोधपुछ गरिएको थियो । जोशीले बयानमा भनेका छन्, पत्रमा उल्लेख अनुसार राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेशअनुसार रवि लामिछानेलाई थुनामुक्त गरिएको थियो ।
जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’
जोशीले आयोगलाई बयान दिँदै भने, “भदौ २४ मा प्रदर्शनकारीले रवि लामिछानेलाई घेरेर जेलबाट बाहिर लगे । डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराइयो । सुरक्षा चुनौतीको कारण पत्रको सम्पूर्ण ब्यहोरा मैले हेर्न पाइनँ ।”
उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे निरीक्षणसमेत गरेका छन् ।