© २०२३
बुटवल, १८ कार्तिक ।
नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचनको तयारीमा लाग्नुभन्दा पनि राजनीतिक प्रतिशोधमा केन्द्रित भएको आरोप लगाएका छन् ।
रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, “सरकारले चुनावको तयारी गरिरहेको छैन । बरु राजनीतिक दल र तिनका नेतामाथि प्रतिशोधपूर्ण व्यवहार गर्दैछ। यसरी प्रतिशोधका आधारमा चुनावको वातावरण बनाउन सकिँदैन ।”
जेनजी आन्दोलनपश्चात् देशमा देखिएको राजनीतिक घटनाक्रमको सन्दर्भमा उनले गम्भीर षड्यन्त्रहरू भएको दाबी गर्दै भने, “षड्यन्त्र सधैं थाहा हुने रहेनछ । यति तहको योजना, यति तहको कन्स्पिरेसी भइरहेको कुरा सुरुवातमै बुझ्न कठिन भयो ।”
पौडेलले संविधानले देशलाई बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित बनाएको स्मरण गराउँदै निर्वाचन निर्वाचित राजनीतिक शक्तिबाटै सम्भव हुने स्पष्ट पारे । “राजनीतिक दललाई किनारा लगाएर निर्वाचनमा जान खोज्नु जनताको अधिकारमाथि प्रहार हो,” उनले भने, “सरकारले देखाउने मात्रै दाँत देखाएको छ, काम गर्ने दाँत छैन ।”
उनका अनुसार, एमालेका लागि निर्वाचनमा जाने–नजाने प्रश्न गौण हो, किनभने पार्टीले विगतमा पनि कठिन राजनीतिक अवस्थामाझैँ जनतामाझ गएर सफलता हासिल गरेको छ । “पञ्चायती शासनकालमा पनि हामीले चुनावलाई पञ्चायतविरुद्धको हतियारका रूपमा प्रयोग गरेका थियौं,” पौडेलले स्मरण गरे, “त्यसैले नेकपा एमाले जनताबाट भाग्दैन, निर्वाचनबाट तर्सिँदैन ।”
उनले हालको मुख्य समस्या सरकारको निष्क्रियता र प्रतिशोधी व्यवहारमा रहेको भन्दै निर्वाचन सफल बनाउन निष्पक्ष वातावरण सुनिश्चित गर्न माग गरे ।