© २०२३
काठमाडौं, १८ कात्तिक ।
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसको संस्थापन पक्षले भने १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव राखेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।