© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन मिति निर्धारणमा विवाद भइरहेकाले पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारदेखि बस्न सकेको थिएन । आजदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक पुनः सुरु भएको छ ।
बैठकमा १५औँ महाधिवेशनको मिति र समयबारे छलफल हुने नेताहरूले जानकारी दिएका छन् । महाधिवेशन २१ फागुनको प्रतिनिधि सभा चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा बैठक आव्हान र स्थगित हुँदै आएको थियो ।
आजको बैठकमा महामन्त्री गगन थापाले चुनाव अघि महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारीमा छन् । अर्कोतर्फ, संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका पेश गर्ने तयारी गरेको छ ।
संस्थापन पक्षीय भेलाले १५औँ महाधिवेशन वैशाख अन्तिम साता अर्थात् २५–२८ वैशाखसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको छ ।
संस्थापन इतर नेताहरू भने प्रतिनिधि सभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाइसकेका छन् ।
आजको बैठकमा दुवै पक्षबाट अलग–अलग महाधिवेशन कार्यतालिका पेश हुने अपेक्षा गरिएको छ ।