बुटवल, १८ कार्तिक ।
बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा यही माघमा कृषि मेला गर्न लागिएको हो । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’ मा कृषि मेला गर्ने निर्णय गरिएको सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि सङ्घले २०६२ सालदेखि गर्दै आएको विशिष्टीकृत कृषि मेला गर्दै आएको छ । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी माघमा आयोजना गर्न लागिएको कृषि मेलालाई नमुना कृषि मेलाका रूपमा आयोजना गर्ने निर्णय गरिएको हो ।
नेपालमा परम्परागत रूपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यावसायिक रूपमा सुरुवात भएको र यसलाई अझै कसरी वैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिइने अध्यक्ष अर्यालले बताए ।
कृषि प्रणालीको विकास र प्रवर्द्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरू, उपभोक्ता र सरकार बिचको तारतम्य मिल्न आवश्यक छ । ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ’, उनले भने ।
त्यसै गरी कृषिजन्य उत्पादनहरूको प्रदर्शनी, बिक्री वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा बिक्री वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरू र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने छ ।