© २०२३
काठमाडौँ ।
तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको थप पुष्टि भएको छ । नागरिकतामा शंका उत्पन्न भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
उनले आफ्नो नागरिकतामा उल्लेख गरेका बाबुलाई प्रहरी परिसर काठमाडौँले आइतबार कार्यालयमा बोलाएर भेट गराएको थियो । तर तेन्जिनले नागरिकतामा उल्लेख गरेका बाबुलाई नै चिन्न सकेका छैनन्, जाँचमा संलग्न अधिकारीले बताए ।
नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुबा कृष्णबहादुर लामा उल्लेख छ ।
संलग्न अधिकारीका अनुसार, “विवरणमा बाबु भनिएका व्यक्तिलाई हामीले आइतबार कार्यालयमा बोलाएर भेट गराएका थियौँ । तर तेन्जिनले ती व्यक्तिलाई चिनेनन् र बाबु भनिएका व्यक्तिले पनि तेन्जिनलाई चिनेनन् । यसबाट पनि उनको नागरिकता नक्कली भएको थप पुष्टि हुन्छ ।”
तेन्जिनले प्रहरीलाई काठमाडौँ महानगरपालिका–६ ठेगानासहित जन्मदर्ता र नागरिकता बुझाएका थिए । जन्मदर्ता विसं २०६३ चैत १० मा गरिएको देखिन्छ भने नागरिकता २०७९ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएका हुन् ।
प्रहरीले विवरण मिलाउने क्रममा वडा कार्यालयलाई पनि पत्र पठाएको थियो, तर वडा कार्यालयले विवरण उपलब्ध नभएको जवाफ पठाएको थियो ।
पहिला तिहारको अवधिभर अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेका तेन्जिनविरुद्ध अहिले लागुऔषध र लिखत कीर्तेसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ, प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । लागुऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।
तेन्जिनलाई असोज २६ गते बिजुलीबजारको पुलमा पेस्तोलसहितको फोटो–भिडिओ सार्वजनिक भएपछि पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा पेस्तोल नक्कली र फोटो–भिडिओ पुरानो रहेको पुष्टि भयो, त्यसपछि उनीमाथि अभद्र व्यवहारकै मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो । यसबीच प्रहरीले उनको निवासमा खानतलासी गरी लागुऔषध गाँजा फेला परेको दाबी गरेको छ ।
प्रहरीको दाबी अनुसार, जेन–जी आन्दोलन हिंसात्मक बनाउन यो समूहको मुख्य भूमिका रहेको देखिएको छ । सुरुमा शान्तिपूर्ण अगाडि बढेको आन्दोलनलाई २३ गते उग्र बनाउन, निषेधित क्षेत्र तोडेर ठूलो संख्यामा मोटरसाइकलसहित अगाडि बढेको भिडिओ सार्वजनिक भएको छ । उनीहरू ‘तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको ज्याकेट लगाएर सहभागी भएका थिए ।