© २०२३
काठमाडौं ।
प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई उपत्यका भित्रै राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इञ्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउनसक्ने उल्लेख गर्दै प्रहरी मुख्यालयलाई पत्र पठाएको जनाएको छ । आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आधिकारिक पत्र पठाएको थियो ।
जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान प्रक्रिया थालेको छ । आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो । जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते गोली प्रहारबाट २२ जनाको ज्यान गएको थियो ।
